भारतलाई भन्सार शुल्क बहाना हो, निसाना त रूस हो : अमेरिकी उपराष्ट्रपति

Bhugolpark

८ भाद्र, २०८२,१०:५१

९ भदौ, काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जे.डी. भेन्सले भारतलाई अमेरिकाले बढाएको भन्सार शुल्क केवल बहाना मात्र भएको टिप्पणी गरेका छन् ।


उनले एनबीसी न्युजसँग गरेको एक कुराकानीमा भारतमाथि भन्सार शुल्क बहाना मात्रै भएको र खास निसाना रूस रहेको बताएका हुन् । उनले भारतविरुद्ध भन्सार शुल्क लगाएर रूसमाथि कडा आर्थिक दबाब सिर्जना गरिएको तर्क गरेका छन् ।


‘राष्ट्रपतिले कडा आर्थिक दबाब सिर्जना गर्नुभएको छ। उदाहरणका लागि, भारतमाथि सेकेन्डरी भन्सार शुल्क लगाइयो ताकि रूसले आफ्नो तेलको कारोबारबाट धनी बन्न नसकोस्,’ उनले भने । उनले थपे, ‘राष्ट्रपति ट्रम्पले यदि रूसले हत्या र युद्ध बन्द गर्छ भने उसलाई फेरि विश्व अर्थतन्त्रमा समावेश गर्न सकिने प्रस्ट पारिसक्नुभएको छ।’


रूसले युद्ध नरोके ऊ एक्लिनुपर्ने उनले चेतावनी दिए । ‘तर यदि रूसले यो रोकेन भने उसलाई एक्लै रहनुपर्ने हुन्छ’ उनले भने, ‘राष्ट्रपति ट्रम्पले रूसमाथि यो युद्ध रोक्नका लागि त्यति ठूलो आर्थिक दबाब सिर्जना गर्नुभएको छ, जुन बाइडेनले तीन वर्षमा पनि गर्न सकेनन्।’


हालसालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशतको भन्सार शुल्क लगाएका थिए। पछि उनले भारतले रूसबाट तेल र हतियार खरिद गरेर युक्रेनविरुद्धको युद्धमा मद्दत गरिरहेको भन्दै थप २५ प्रतिशत भन्सार शुल्क लगाइदिए। यो नयाँ दर २७ अगस्टदेखि लागु हुनेछ।


ट्रम्पको यो निर्णयसँगै अमेरिकाको राजनीति र मिडियामा पनि ठूलो बहस सुरु भएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले अमेरिकी कदमप्रति टिप्पणी गर्दै आइतबार भने, ‘रूसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता चीन हो, तर उसमाथि बढी भन्सार शुल्क लगाइएको छैन। त्यस्तै, रूसबाट सबैभन्दा बढी एलएनजी युरोपले किन्छ, तर उनीहरूसँग फरक मापदण्ड अपनाइएका छन्। यो अन्यायपूर्ण हो। यदि तर्क ऊर्जा र रूसबाट कति खरिद गरिन्छ भन्ने हो भने, भारत यी दुई सन्दर्भमा पछाडि पर्छ।’


उनले थपे, ‘दुनियाले यस्तो अमेरिकी राष्ट्रपति पहिले कहिल्यै देखेको थिएन जसले आफ्नो परराष्ट्र नीति यति सार्वजनिक रूपमा सञ्चालन गरेका छन्। यस्तो प्रश्न अब अमेरिकामै पनि उठ्न थालेको छ । रिपब्लिकन नेतृ निक्की हेलीले वर्तमान परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै अमेरिकाले चीनको सामना गर्न उसलाई भारतजस्तो मित्रको आवश्यकता छ भन्ने बुझ्नुपर्ने टिप्पणी गरिन् ।


अमेरिकाका पूर्व विदेश मन्त्री जोन केरीले भने, ‘ट्रम्प आफ्नो नीतिहरूमार्फत आफ्ना सहयोगीहरूलाई टाढा पारिरहेका छन्।’ त्यस्तै, अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार पनि भारतमाथि लगाइएका भन्सार शुल्कको विरोधमा देखिएका छन्।


18 Views

Comments