आफ्नै पार्टी बनाउन कस्सिए बालेन ! हिजो दिनभर छलफलमा

Bhugolpark

९ पुष, २०८२,०९:५८

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफ्नै नेतृत्वमा पार्टी बनाएर अघि बढ्न कस्सिएका छन् । उनले बुधबार ललितपुरको कुपन्डोलमा करिब ७ घण्टा फरक– फरक क्षेत्रका व्यक्तित्वसँग कुराकानी गरेको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

निकट एक नेताले दिएको छलफलमा रास्वपा सभापति रवि लामिछाने र बालेनबीचको भेटले सार्थकता पाउने सम्भावना निकै कम रहेकाले अहिले भेटलाई तीव्रता दिइएको हो ।

निर्वाचन आयोगमा समानुपातिक सूची बनाउने समय निकै नजिक आएकाले अहिले छलफललाई तीव्रता दिनुपरेको ती नेताले जानकारी दिए ।

बुधबारको छलफलमा पत्रकार, उद्योगी, व्यवसायी, जेनजी प्रतिनिधि, केही दलका नेताहरुलगायतसँग पनि भेट गरेका थिए ।

विवेकशील पार्टी छाडेका मिलन पाण्डे, रमेश पौडेल, जेनजी प्रतिनिधि रक्षा बम, सीके राउत, रेशम चौधरी, सुरज सिंह ठकुरी, सम्भव सिरोहिया, ऋषि धमलालगायतसँग छलफल गरेको स्रोतले जानकारी दियो ।

भेटपछि पत्रकार धमलाले दिएको जानकारीअनुसार बालेन झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गर्न चाहन्छन् ।

अर्का एक नेताले बाह्रखरीसँग कुरा गर्दै भने, “यो प्रारम्भिक चरणको छलफलमात्रै हो । बलेन र रविबीचको छलफलले ठोस निष्कर्ष दिन नसकेपछि उहाँले नै अग्रसरता लिनुभएको हो । समानुपातिकको डेडलाइनले पनि दबाब दिएको छ ।”

बालेनले कुन पार्टीलाई अघि बढाउने भन्ने कुनै निर्णय नभए पनि यसअघि लौरो चुनाव चिह्न लिएर निर्वाचन आयोगमा दर्ता भएको पार्टीको नेतृत्व गरेर जाने विषयमा छलफल भएको थियो ।


64 Views

Comments